समाचार

शुक्रबारदेखि विराटनगरमा बास्केटबल प्रतियोगिता हुने

विराटनगरमा ‘चौथो विद्यालयस्तरीय बास्केटबल’ प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ।

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता भदौ १५ शुक्रबारदेखि सुरु हुने भएको हो। खेलको विकास र विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए।

विद्यालयस्तरबाट खेलप्रति आकर्षित गराउन सके राम्रो खेलाडी उत्पादन गर्न सकिने बताउँदै, संयोजक बाँस्तोलाले भने, ‘खेलकुदले एउटा खेलाडी उत्पादन मात्रै गर्ने नभई एउटा सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्छ। खानैदेखि खेलकुदप्रति आकर्षित गर्न सके युवापुस्ता लागुऔषध दुर्व्यसनी हुनबाट जोगाउन सकिन्छ।’

भदौ २९ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका ८ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएको छ। सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुलको सहभागिता रहेको छ।

होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरी लिग खेल हुने छन्। प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने व्यक्तिगत म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने छन्।

गत वर्ष बिकेभिएम स्कुलले उपाधि जितेको थियो । शुक्रबार एभरेष्ट स्कुलको कोर्टमा हुने उद्घाटन खेल एभरेष्ट र डिपिएस स्कुलबीच हुनेछ ।