चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा आर्मीकै राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् ।
दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए । यस्तै आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौं, सविन तामाङ छैटौं र भीम गुरुङले सातौं भए ।
उपाधिसँगै कृष्णले १ लाख २५ हजार रुपैयाँसहित मोटरसाइकल प्राप्त गरे दोस्रो भएका राजनले ६५ हजार र तेस्रो भएका नवराजले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै कल्याण बानियाँ पहिलो भए । उनले दौड १ घण्टा छ मिनेट ३१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका गजेन्द्र राईले १ घण्टा १ मिनेट ३८ सेकेण्ड र तेस्रो भएका टीकाराज कटवालले एक घण्टा सात मिनेट २३ सेकेण्डमा दूरी पार गरे ।
यस्तै महिलतर्फ आर्मीकी विश्वरुपमा बुढा पहिलो भइन् । उनले दौड १ घण्टा १७ मिनेट २० सेकेण्डमा पार गरिन् । दोस्रो भएकी सशस्त्र प्रहरी बल (एपिएफ)की बिन्दा देसारले १ घण्टा २६ मिनेट १२ सेकेण्डमा पार गर्दै दोस्रो र तेस्रो भएकी आर्मीकी चन्द्रा रावतले एक घण्टा २१ मिनेट ३२ सेकेण्डमा पार गरिन् ।
दुवै स्पर्धाका विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरे । ४५ वर्षमाथिको दौडमा धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवाले तेस्रो स्थान हात पारे । विजेताले रु ४० हजार, दोस्रोले रु २५ हजार र तेस्रोले रु १५ हजार हात पारे । विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरेका थिए ।
सोही अवसरमा सेनाले आर्मीका तीन पूर्वअन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भण्डारी, पारा एथलेटिक्सका विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ छन् । उनीहरुलाई जनही रु २५ हजार ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।
जंगी अड्डाबाट शुरु भएको दौड त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने हुँदै भक्तपुर सूर्यविनका पुगेर पुनः जंगी अड्डमै आएर सम्पन्न भएको थियो ।