विंगर सर्गी गनाब्री बुन्डेस लिगाको उद्घाटन खेलमै ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले बुन्डेस लिगामा सानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको उद्घाटन खेलमा बायर्नले साल्केलाई ८–०को फराकिलो अन्तिरले हरायो ।
बायर्नको सानदार जितमा गनाब्रीको ह्याट्रिकसँगै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, जामल मुसिलाले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा बायर्नले पहिलो हाफमा ३ र दोस्रो हाफमा ५ गोल गरेको थियो ।
चौंथो मिनेटमै गनाब्रीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । लेवान्डोस्कीले पेनाल्टीमा ३१औं मिनेटमा गोल गरेपछि बायर्न ३–०को अग्रता लियो । डिबक्समा लेवान्डोस्कीलाई लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो ।
पहिलो हफमा ३ गोल गरेको बयार्नले दोस्रो थप ५ गोल गरेको थियो । ४७ औं र ५९औं मिनेटमा गोल गर्दै गनाब्रीले सिजनको पहिलो खेलमै ह्याट्रिक गरे भने बायर्नलाई ५–०को अवस्थामा ल्याए ।
६९औं मिनेटमा मुलर र ७१औं मिनेटमा सानेले गोल गरेपछि बायर्नले ७–०को अग्रता लियो ।
म्यान्चेस्टर सिटीबाट यसै सिनज बायर्न आएका सानेले डेब्यू खेलमै खेलमै आफ्ना् प्रभाव छाडे । उनले १ गोल र २ असिस्ट गरेका थिए । ८१औं मिनेटमा १७ वर्षीय खेलाडी मुसिलाले गोल गरेपछि बायर्नले पहिलो खेलमै ८–० को सानदार जित निकाल्यो ।
बायर्न र साल्के बुन्डेस लिगाको उद्घाटन खेलको भिडेको यो पहिलो पटक हो । यो सिजनसँगै बार्यन साल्केविरुद्ध लगातार २१ खेलसम्म अपराजित रहेको छ । बायर्न साल्केविरुद्धका १९ लिग र २ डिएफबी पोकलमा अपराजित छ । जसमा उसले १८ जित र ३ बराबरी खेलेको छ । सन् २००१÷०२ डिफेन्डिङ च्याम्पियनका रुपमा बायर्न बोरुसिया मान्चेनग्लावाचसँग १–०ले पराजित भएयता लिगको सुरुवाती खेलमा डिफेन्डिङ च्याम्पियन क्लब अपराजित छन् ।