लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको सहज जित

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की चम्किएपछि जर्मन बुन्डेस लिगामा बार्यन म्युनिखले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बायर्नले हेर्था बर्लिनलाई ५–०ले हरायो।

बायर्नको जितमा लेवान्डोस्कीको अलावा थोमस मुलर र जमाल मुसिआलाले गोल गरे। बायर्नले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

बायर्नले छैठौं मिनेटमा थोमस मुलरको गोलमा अग्रता लियो। उनले अल्फान्सो डेविसको पासमा गोल गरेका थिए। ३४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए।

४९औं मिनेटमा युवा खेलाडी जमाल मुसियालाले गोल गर्दै बायर्नलाई ३–०को अग्रता दिलाए। उनले मुलरको पासमा गोल गरेका थिए। ७०औं लेवान्डोस्कीले लिराए सानोको पासमा गोल गर्दै बायर्नलाई ४–०को अवस्थामा ल्याए।

८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै उनले सिजनको आफ्नो पहिलो ह्याट्रिक पुरा गरे भने टिमलाई ५–०को जित दिलाए। यो ह्याट्रिकसँगै लेवान्डोस्कीले बार्यनका लागि ३ सय गोलको कोशेढुंगा पनि पार गरे।

यसैगरी बुन्डेस लिगाका अन्य खेलमा बायर लेभरकुसेन, फ्रेइबर्ग, माइन्ज र क्लोन विजयी भएका छन्। लेभरकुसेनले अग्सवर्गलाई ४–०ले हरायो भने फ्रेइवर्गले स्टुटगार्डलाई ३–२ले हरायो । यस्तै, माइन्जले फुर्थलाई ३–०ले हराउँदा क्लोनले भिएलएफ बोचुमलाई २–१ले हरायो।