जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई उसकै मैदानमा पराजित गरेको छ । १ गोलले पछि परेको अवस्था उल्टाउँदै बायर्नले डर्टमन्डलाई उसकै मैदानमा ३–२ले हरायो ।
बायर्नका लागि डेभिड अलावा, रोवर्ट लेवान्डोस्की र लिरोए सानेले एक गोल गरे भने डर्टमन्डका लागि मार्को रिउस र अर्लिङ हालान्डले गोल गरे ।
पहिलो हाफको ४५औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । पहिलो हाफकै इन्जुरी टाइममा अलावाले बायर्नका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमै लेवान्डोस्कीले गोल गर्दा बायर्नले अग्रता लियो । उनले ४८औं मिनेटमा गोल गरेका थिए ।
८०औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए । ८३औं मिनेटमा डर्टमण्डका हालान्डले गोल गर्दै गोलअन्तरमा ३–२ मा झारे । त्यसपछि गोल नहुँदा बायर्न ३–२ले विजयी भयो ।
यसैगरी बुन्डेस लिगकै अर्को खेलमा आरबी लेइपजिगले फ्रेइवर्गलाई ३–० ले पराजित गरेको छ । जित पछि ७ खेलमा १८ अंकसहित बायर्न शीर्ष स्थानमा छ भने लाइपजिग १६ अंकसहित दोस्रो स्थानमा छ । १५ अंक जोडेको डर्टमन्ड तेस्रो स्थानमा छ ।