फिफा वरियता : बेल्जियम शीर्ष स्थानमा, नेपाल १६१औं स्थानमै

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । फिफाले बुधबार सर्वाजनिक नयाँ वरियता अनुसार शीर्ष तीनमा कुनै परिवर्तन भएको छैन ।

वरियता अनुसार १७३७ अंकका साथ बेल्जियम शीर्ष स्थानमा छ भने १७३७ अंकका साथ विश्व विजेता फ्रान्स दोस्रो र १६७६ अंकका साथ ब्राजिल तेस्रो स्थानमा छ ।

यता, नेपाल भने नयाँ वरियतामा पनि १६१औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल सोही स्थानमा थियो ।

नेपालले गत महिना कुवेतविरुद्ध दुई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको थियो । जसमा नेपालले पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा नेपाल १–० ले कुवेतसँग पराजित भयो । यद्यपि, फिफाले अप्रिल महिनाको वरीयता सार्वजनिक गर्दा नेपाल र कुवेतबीचको मैत्रीपूर्ण खेललाई समावेश गरेको छैन ।

दक्षिण एसियाको वरीयतामा भारत शीर्ष स्थानमै छ । भारतले यसपटक २ स्थान सुधार गरेको छ । भारत १०१औँ स्थानमा छ । ११५औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा रहँदा भुटान चौथो स्थानमा रहेको छ । भुटान विश्व वरीयतामा १८६औँ स्थानमा छ । यस्तै बंगलादेश पाँचौँ र पाकिस्तान छैटौँ स्थानमा छन् भने श्रीलंका पुछारमा रह्यो ।

विश्व वरीयतामा इंग्ल्यान्डले एक स्थान सुधार गरेको छ । फिफाको पछिल्लो वरीयताअनुसार इंग्ल्यान्ड चौथो स्थानमा छ । इंग्ल्यान्डको १६४७ अंक छ । यस्तै क्रोएसिया एक स्थान तल झर्दै पाचौं, उरुग्वे छैटौँ, एक अंक तल झार्दै पोर्चुगल सातौँ स्थानमा छ । स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क १० औं स्थानमा छन् ।

यसैगरी एसियामा इरान नम्बर एक राष्ट्र बनेको छ । विश्व वरीयतामा २१औं स्थानमा छ । २६औं स्थानमा रहेको जापान एसियामा दोस्रो स्थानमा छ भने दक्षिण कोरिया एसियाको तेस्रो स्थानमा छ । दक्षिण कोरिया समग्रमा विश्व वरीयताको ३७औँ स्थानमा छ । फिफा वरियताको ५५औं स्थानमा रहेको एसिया कप विजेता कतार एसियाको पाचौं स्थानमाछ ।