इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकपका लागि छानियो

बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ। विश्वकपको युरोपियन छनोट अन्तर्गत शनिबार राति इस्टोनियामाथि ३–१को जित निकाल्दै बेल्जियमले कतारको टिकट काटेको हो।

ब्रसेल्समा भएको खेलमा घरेलु टोलीको जितमा क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गान हाजार्डले गोल गरे भने इरिक सोरगाले एक गोल फर्काए। खेलको ११औं मिनेटमा क्रिस्टियन बेन्टेकेको गोलमा बेल्जियमले अग्रता लिएको थियो। ५३औं मिनेटमा यान्निकले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे।

७०औं मिनेटमा इरिक सोरगाले राउनो साप्पिनेनको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि ७४औं मिनेटमा थोर्गान हाजार्डले गोल गर्दै बेल्जियमको जित पक्का गरे।

समूह इकोको अर्को खेलमा वेल्सले बेलारुसलाई ५–१ को अन्तरले पराजित गरेको छ। छनोटको अन्तिम खेलमा वेल्सले बेल्जियमसँग खेल्दैछ। जित र बराबरीको नतिजाले वेल्स प्ले अफमा पुग्नेछ। पराजित भएमा भने चेक रिपब्लिकको नतिजामा भर पर्नेछ।

जितसँगै अपराजित रहेको बेल्जियमले ७ खेलबाट १९ अंक जोडेको छ। पराजित इस्टोनिया ४ अंकका साथ चौथो स्थानमा छ। १४ अंकसहित वेल्स दोस्रो स्थानमा छ भने चेक रिपब्लिक ११ अंकसहित तेस्रो स्थानमा छ।