अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतको खेलाडी संघको अध्यक्ष राष्ट्रिय टिमका मिडफिल्डर विक्रम लामा चयन भएका छन्। खेलाडी संघको नेतृत्वमा राष्ट्रिय टोलीका मिडफिल्डर लामा निर्विरोध अध्यक्षमा चयन भएका हुन्।
एन्फा नेतृत्वका लागि निर्वाचन असार ६ गते हुने निर्वाचनमा खेलाडी संघले पनि ताधिकार पाउने छ।
आइतबार भएको निर्वाचनमा गोलकिपर विकेश कुथु, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर विराज महर्जन उपाध्यक्षमा चयन भएका छन्। यस्तै, डिफेन्डरद्वय रन्जित धिमाल, अनन्त तामाङ, मिडफिल्डरत्रय रोहित चन्द, विशाल राई, सरोज दाहाल, स्ट्राइकर विमल घर्तीमगर र गोलकिपर विशाल श्रेष्ठ सदस्य बनेका छन्।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ कार्यसमितिलाई स्वागत तथा शुभकामना दिएका थिए । अध्यक्षमा निर्वाचित लामाले खेलाडीको हक अधिकार स्थापित गर्न संघले सबैसँग मिलेर काम गर्ने बताए ।
राष्ट्रिय फुटबल टिमका खेलाडी बिक्रमले थ्री स्टारमार्फत घरेलु फुटबल खेल्दै आएका छन् । उनले कप्तानीमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेको थियो । अन्तराष्ट्रिय फुटबलमा नेपालले पछिल्लो दशकमा प्राप्त गरेको सफलतामा बिक्रमको महत्वपुर्ण भुमिका छ ।