विनिताले जितिन् प्रो कार्ड, ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने

नेपालकी विनिता राईले आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी छिन् । शनिबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित प्रतिस्पर्धामा विनिताले आफ्नो स्पर्धामा पहिलो बन्दै ‘प्रो कार्ड’ जितिन् ।

नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने छिन् । बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन ‘प्रो कार्ड’ आवश्क पर्छ ।

प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

यसैगरी मेन्स बडिबिल्डिङको प्रो कार्ड इंग्ल्यान्डका जानी डो रिगोल जितेका छन् । ‘मेन्स फिजिक’को प्रो कार्ड भारतका सौराम्ती सिंहले जिते । उनले अन्तिम प्रतिस्पर्धामा रहेका तीन खेलाडीलाई पछि पारेका थिए ।

‘मेन्स क्लासिक फिजिकको प्रोकार्ड सिरियाका अमिर हुसेन सैलादिनले हात पारेका छन् । प्रो कार्ड जितेका चार बडिबिल्डरले अब आगामी सेम्टेम्बरमा अमेरिकामा हुने हुने मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, युएइलगायत मुलुका खेलाडी नेपाल आएका थिए । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्व विख्यात बडिबिल्डर रोली विंंक्लारले पनि प्रस्तुति दिएका थिए ।

च्याम्पियनसीपमा ६० जना खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको संख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्वधर्मश्री विजेता सानु गुरुङले बताए ।

विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद्को सदस्य केशव विष्टले ‘प्रो कार्ड’ प्रदान गरेका थिए ।