आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

30 Mar, 2024

न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो।

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ।

जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए। खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए। आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे। डिबक्स भित्र बैकल्पीक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो।

हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार व्यर्वहनु परेको बताए । ‘नियमित खेलहरु भइरहेको कारणले हामीले धेरै नयाँ खेलाडीहरु छन् । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने ।

जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए । ‘केटाहरुले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उनले भने, ‘क्वाटरफाइनलमा थप नयाँ खेलाडी राख्नेछौं।’

शनिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ ।