भारतीय टिमलाई हराउँदै मछिन्द्र विराट गोल्डकपको सेमिफाइनलमा

3 Apr, 2024

मछिन्द्र क्लब विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद मैदानमा मंगलबार राति भएको खेलमा मछिन्द्र कोलकाताको साउर्थन समिति एफसिलाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। योसँगै प्रतियोगिताको समिफाइनल समीकरण पुरा भएको छ।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्नेछ।

मछिन्द्रको जितमा नायक बनेका विदेशी खेलाडी स्टेफन विनोङले दुवै गोल गरे। कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए।

स्टेफन विनोङले खेल सुरु भएको १० औं मिनेटमा गोल गरी मछिन्द्रलाई अग्रता दिलाए। मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्यभागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई वीट गर्दै उत्कृष्ट फिनिसिङ गरे।

कोलकताका सोनु हल्दारले ३२ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए। सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए।

पहिलो हाफ १–१ गोलको बराबारीमा सकियो। खेलको ५५औं मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए। सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो। त्यही गोल मछिन्द्रको जितमा निर्णायक भयो।