घरेलु टोली विराटनगर एफसी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई २–१ले हराउँदै आयोजक उपाधि नजिक पुगेको हो।
प्रतियोगिताका लागि विराटनगर एफसीले ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई समेट्दै टिम तयार गरेको थियो। विराटगनर एफसीबाट मछिन्द्रका विमल घर्तिमगर, विशाल श्रेष्ठ एफसी खुमलटारका विदेशी स्ट्राइकरद्वय स्टेफन विनोङ र मेसुके ओलेमोउलगायतलाई राखेको थियो।
पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा ५९औं मिनेटमा मेसुको ओलमोउको गोलमा विराटनगरले सुरुआती अग्रता लियो । विमल घर्तिमगरले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिस देउलाले क्लियर गर्न नसक्दा मेसुकेले गोल गरेका थिए।
८७औं मिनेटमा अभिषेक गुरुङले विराटनगरका लागि दोस्रो गोल गरे । ओलावाओले अफिजलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अभिषेकले टप कर्नरबाट उत्कृष्ट फिनिसिङ गरेका थिए ।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा मंगलबार डिफेन्डिङ च्याम्पियन एपीएफ र केरलाको लुका सकर क्लब भिड्ने छन् ।
उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ।