आयोजक विराटनगर सिटीले सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सहिद मैदानको फ्लडलाइटमा बिहीबार करिब ८ हजार दर्शकको ढुकढुकी शान्त पार्दै विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले पराजित गर्दै घरेलु मैदानमा ६ दशकपछि उपाधि जितेको हो ।
यसअघि विराटनगरले २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करण यही मैदानमा जितेको थियो । विराटनगरको जितमा विमल घर्तीमगरको प्रदर्शन उत्कृष्ट रह्यो । उनले टिमका लागि एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए ।
खेलको सातौं मिनेटमा अफिज ओलवालेको गोलबाट अग्रता लिएको विराटनगरले पूरै समय विपक्षीलाई दबाबमा राखेर खेलेको थियो । पहिलो हाफमा एक गोलको अग्रता लिएको विराटनगरबाट थप तीन गोल खेलको अन्तिम १२ मिनेटभित्र सम्भव भयो ।
७८ औं मिनेटमा विमलले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले युका सुजुकीको पास सदुपयोग गरे । त्यसअघि ७४ औं मिनेटमा केरलाका कप्तान अर्सादले बक्सभित्र ह्यान्ड गर्दा प्राप्त पेनाल्टी अवसर विराटनगरका स्टेफेनले सदुपयोग गर्न सकेनन् । उनको प्रहार भारतका गोलकिपर सनफेरले बचाए ।
खेलको ८९ औं मिनेटमा मुसाकाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाउँदा इन्ज्युरी समयको अन्तिममा अभिषेक गुरुङले विमलको पासमा गोल गरेसँगै खेल सकिएको थियो।
जितसँगै विराटनगरले ट्रफीसहित २० लाख १५ हजार रुपैयाँ पुरस्कार थाप्दा पाहुना टिमले १० लाख १५ हजारमा चित्त बुझाएको छ । केरलाको विदेशी मैदानमा उपाधि जित्ने धोको यसपालि अधुरै रह्यो ।
विधागत पुरस्कारमा पनि विराटनगरको वर्चस्व रह्यो । प्लेयर अफ द टुर्नामेन्ट विराटनगरका मेसुके भए । सर्वाधिक गोलकर्ता विराटनगकै अभिषेक गुरूङ भए । उनले २ गोल गरेका थिए ।
उत्कृष्ट फरवार्ड केरलाका चालिज क्युराको, उत्कृष्ट मिल्डफिल्डर विराटनगरका युका सुजुकी, उत्कृष्ट गोलकिपर विराटनगरका विशाल श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ र उत्कृष्ट प्रशिक्षक विराटनगरकै सन्तोष न्यौपाने भए । सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।
महेन्द्र गोल्डकपका नाममा २९ औं पटक आयोजना गरिएको यो प्रतियोगिता २०६८ देखि विराट गोल्डकपका नाममा आयोजना हुन थालेको हो ।