त्रिभुवन आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै जावलाखेल युथ क्लब शुक्रबार सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सहिद मैदानको फ्लड लाईटमा भएको रात्रिकालीन खेलमा निर्धारित र अतिरिक्त समयमा दुवै टिमबाट गोलरहित खेले । खेलको निर्णय टाइब्रेकरबाट गर्दा पनि बराबरी भएपछि सडनडेथमा पुगेको थियो ।
जावलाखेलको तर्फबाट सीमान्त थापा, फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए ।
आर्मीको तर्फबाट टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङ्देम्बेको प्रहार बाहिरिँदा आर्मी घर फर्किन बाध्य भयो।
खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापा भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते सेमिफाइनल खेल खेल्ने छ।
जावलाखेललाई दबाबमा राखेर खेलेको आर्मीले पटक(पटक सिर्जना गरेका गोलका अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट पहिलो खेलबाटै बाहिरिन बाध्य भयो।
शनिबार साविक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच खेल हुनेछ ।