°
, May 30, 2023 in

विराट गोल्डपको उपाधिका लागि विराटनगर एफसी र लुका सकर भिड्ने

SHARE:

सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

शहीद रंगशालामा भोलि बिहीबार बेलुकी पौने ७ बजे सुरु हुने फाइनल खेल्न लागेको घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो उपाधि उचाल्ने योजनामा छ।

विराटनगरले जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । यता, लुका सकरले फाइनलमा स्थान बनाउने क्रममा डिफेन्डिङ च्याम्पियन एपिएफलाई पेनाल्टीमा हराएको थियो ।

२०१९ सालमा घरेलु टोली मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ– ११ फाइनलमा पुगेर उपविजेता भएको थियो ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलनमा बिमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको थियो । घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोलले पराजित गरेको थियो ।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने, ‘दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’

केरलाको लुका सकर पनि विराट गोल्डकपको पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यमा छ। केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा रहेको टिम लुका सकरका प्रशिक्षक नभास नोकाले सेमिफाइनलमै खेले जसरी फाइनल खेलेर जित्ने दाबी गरे ।

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । साविक विजेता एपीएफ र लिग खेल्दै आएको ए डिभिजनको टिम संकटालाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाइ छ।

SHARE: