एनएसएलमा विशाल धनगढीका मार्की खेलाडी

आगामी वैशाखमा हुने नेपाल सुपरलिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी फुटबल क्लबले मार्की खेलाडीको रुपमा विशाल राईलाई सार्वजनिक गरेको छ ।

गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो । गो ड्रिमर्सले विशाल राईसंग मार्की खेलाडीको रुपमा गरेको सम्झौता रकम भने खुलाएको छैन । यद्यपि एनएसएलमा एक जना मार्की खेलाडीले कम्तीमा २ लाख ५० हजार पाउनेछन् ।

राईले फ्रेन्चाईज फटबल सुरु हुन लागेको र मार्की खेलाडीको रुपमा अनुबन्ध हुँदा खुशी लागेको बताए । अरु टिमसँग कुरा भएपनि धनगढीले आफूलाई विश्वस्त पारेको र पहिला क्रिकेटमा पनि राम्रो गरेकोले धनगढी नै छनोट गरेको बताए ।

यस्तै गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले विशाल राई राम्रो खेलाडी भएकाले मार्की खेलाडीको रुपमा छनोट गरेको बताए । एनएसएलको अक्सन आउने शुक्रबार हुने हुनाले प्रशिक्षक पनि चाँडै छनोट गरिने उनले बताए ।

फ्रेन्चाईजले एक मार्की खेलाडी राख्न पाउने प्रावधान अनुसार विशाललाई राखिएको धनगढी एफसीले जनाएको छ । यस्तै टिमले अरु खेलाडी र प्रशिक्षक अनुबन्धन प्रकिया पनि अघि बढाएको पनि जानकारी दिएको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोनामा आगामी वैशाख ११ गतेदेखि सुरु हुने एनएसएलमा विभिन्न शहरका ७ फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । आयोजकले आइतबार ७ फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको थियो ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।