विष्णु गुरुङ बने विरागनटर एफसीका मुख्य प्रशिक्षक

नेपाल सुपर लिग क्लब विराटनगर सिटीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। गत साता मात्र सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबलाई उत्कृष्ट प्रदर्शन गराउन सफल विष्णुलाई विराटनगरले दोस्रो संस्करणको एनएसएलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

ए डिभिजन लिगमै टिमलाई उत्कृष्ट प्रदर्शन गराएपछि विष्णु मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षक पनि बनेका थिए। प्रशिक्षण करियरको छोटो समयमै धेरै उपलब्धि हासिल गरेको र क्लबको भिजन अनुसार काम गर्न सक्षम भएकाले गुरुङलाई अनुबन्धन गरिएको विराटनगरले उल्लेख गरेको छ।

विराटनगरले गत संस्करणमा भारतीय प्रशिक्षक यान ललाई प्रशिक्षक नियुक्त गरेको थियो । तर प्रतियोगिता दौरान अनुशानविपरीत काम गरेको भन्दै एनएसएल आयोजकले यान ल लाई ५० हजार जरिवाना र एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) चैत २६ देखि जेठ ७ गतेसम्म हुनेछ। नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलमा यो पटक १० टिम सहभागी हुनेछन्। यो पटक ३ नयाँ टिम थप गरिएको छ ।

धनगढीसहित विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले प्रतिस्पर्धा गर्नेछन् ।