समाचार

विशाल र सनम बने नयाँ बडिबिल्डर

नेपालका बडीबिल्डर विशाल पौडेल र सनम मुलगुठीले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

याक एन्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा सोमबार विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीमाथिको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण जिते। तेस्रो स्थानमा थाइल्यान्डका बालाकन पठान सिरावत रहे।

सनमले महिला स्विमसुट फिजिक खुला विधातर्फ स्वर्ण जितिन्। उनले हङकङकी मा सिन यीलाई पछि पार्दै स्वर्ण जितिन् हुन् । तेस्रो स्थानमा दक्षिण कोरियाकी किम सोयुन रहिन्।

नेपालका लागि पुरुष ५५ केजीमा सुरेश दुवालले रजत पदक जितेका छन्। उनी भियतनामका बुइ दाक फि भुसँग पछाडि परेका थिए । मलेसियाका अज्री विन अस्मत सेफ्रीले कांस्य जिते ।अर्को पदक नेपालले ६० केजी तौलमा जित्यो । अस्मिनबाबु गरुङ्गेले रजत र कमल भण्डारीले कांस्य जिते। यस विधामा थाइल्यान्डका जिराफन पोङ्कामले स्वर्ण जिते।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन्। च्याम्पियनसिप एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा भएको भएको हो । नेपालमा भएको यो पहिलो ठूलो शारीरिक सुगठनको प्रतियोगिता हो।