बिग ब्यास लिगको दोस्रो खेलमा सन्दीप : २४ बल, २४ रन ३ विकेट

अस्ट्रेलियामा जारी फ्रेन्चाइच टि–२० क्रिकेट लिग बिग ब्यासमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रशर्दनलाई निरन्तरता दिएका छन् ।

मेलबर्न स्टार्समा आबद्ध सन्दीपले डेब्यू खेलमा २ विकेट लिँदै सानदार डेब्यू गरेका थिए । दोस्रो खेलमा सो प्रदर्शनमा उल्लेख्य सुधार गर्दै सन्दीपले होर्बट हुरिकेन्सविरुद्ध ३ विकेट लिए । त्यसक्रममा सन्दीपले २४ रन खर्चिए ।

यद्यपि, सन्दीपको उत्कृष्ट बलिङका बावजुद उनको टिम मेलबर्न स्टार्स भने ६ विकेटले पराजित हुन पुग्यो । पहिलो खेलमा मेलबर्न स्टार्स १५ रनले पारजित भएको थियो ।

मबार बेल्लेरिभ ओभल, होबर्टमा भएको होबर्ट हुरिकेन्सविरुद्धको खेलमा कप्तान ग्लेन म्याक्सवेलले सातौं आभोर बलिङका लागि सन्दीपको हातमा बल दिए । सन्दीपले आफ्ना कप्तानको निर्णयलाई सही सावित गर्दै पहिलो ओभरमै विकेट लिँदै टिमलाई सफलता दिलाए ।

सन्दीपको सातौं ओभरको पहिलो बलमा एलेक्स डोलानले १ रन लिए भए अर्को बलमा पनि होबर्टका कप्तान म्याथ्यु वाडेले १ रन लिए । तेस्रो बलमा सन्दीपले डोलानलाई क्लिन बोल्ड गरे । सन्दीपको बलमा बोल्ड हुनुअघि डोलानले २ बलमा २ रनमात्र बनाएका थिए ।

यस्तै, सन्दीपको चौथो बलमा बेन म्याकडेरमोटले १ रन लिए भने पाँचौं र छैठौं बलमा पनि वाडे र म्याकडेरमोटले १–१ रन लिए । उनले पहिलो ओभरमा ५ रन दिएर १ विकेट लिँदै मेलबर्न स्टार्सलाई खेलमा फर्काएका थिए ।

नवौं ओभरमा पुनः म्याक्सवेलले सन्दीपको हातमा बल थमाए । क्रिजमा वाडे र म्याकडेरमोट नै थिए । म्याकडेरमोटले सन्दीपको सुरुका तीन बलमा कुनै रन लिन सकेनन् भने चौथो बलमा उनले १ रन लिँदै स्ट्राइक वाडेलाई दिए ।

१८ बल खेल्दै २४ रन बनाइसकेका वाडेले सन्दीपको पाँचौं बल स्विप गर्दै चौका प्रहार गरे । सन्दीपको दोस्रो ओभरको अन्तिम बलमा वाडेले २ रन लिए । सन्दीपले दोस्रो ओभरमा ७ रन दिए ।

१ सय ५६ रनको टार्गेट पछ्याएको होबर्ट १३ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १ सय १२ रन बनाएर जिततर्फ अग्रसर थियो । मेलनर्बनलाई पहिलो जित निकाल्न विकेटको खाँचो थियो । विकेटको खोजिमा रहेका कप्तान म्याक्सवेलले १४औं ओभरमा पुनः सन्दीपलाई बलिङका लागि पठाए । क्रिजमा वाडे र म्याकडेरमोट जमिसकेका थिए ।

स्ट्राइकमा रहेका वाडेले सन्दीपको पहिलो बलमा कुनै रन लिन सकेनन् । दोस्रो बल सन्दीपले लेग ब्रेक गरे । अघिल्लो ओभरमाझैं सो बलपनि स्विप गर्दै बाउन्ड्री प्रहार गर्न खोजेका वाडेलाई एडम जम्पाले सर्ट फाइनमा क्याच आउट गरे । वाडेको विकेट लिँदै सन्दीपले पुनः मेलबर्नलाई सफलता दिलाए । वाडे ३४ बलमा ५२ रन बनाएर आउट भए ।

सन्दीपको तेस्रो र चौथो बलमा म्याकडेरमोट र जर्ज बेलीले १–१ रन लिए । पाँचौं बलमा म्याकडेरमोटले स्क्वायर लेगमा छक्का प्रहार गरे भने अन्तिम बल उनले डट खेले । सन्दीपले १४औं ओभरमा ८ रन दिएर १ विकेट लिए ।

सन्दीप लामिछाने १६औं ओभरमा आफ्नो अन्तिम स्पेल लिएर आए । अन्तिम ओभरको पहिलो बलमै सन्दीपले मेलबर्न स्टार्सलाई पुनः सफलता दिलाए । उनले पहिलो बलमै २४ रन बनाएर खेलिरहेका म्याकडेरमोटलाई एलबीडब्लु धरापमा पारेका थिए । सन्दीपका त्यसपछिका चार बलमा सिमोन मिलेन्को र बेलीले १–१ रन लिए भने अन्तिम बलमा मिलेन्कोले कुनै रन लिन सकेनन् ।

बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट्स खेलाडी सन्दीपले होबर्ट हुरिकेन्सविरुद्ध ४ ओभरको स्पेलका २४ बलमा २४ रन दिए ३ विकेट लिए । आफ्नो स्पेलमा १ चौका र १ छक्का खाएका सन्दीपले ९ डट बल फ्याँकेका थिए । टिमको लागि सबैभन्दा किफायति बलिङ गरेका सन्दीपको इकोनोमी ६.०० थियो ।

२ खेलमा ५ विकेट लिएका लेगस्पिनर सन्दीप लामिछाने यो सिजन बिग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । पहिलो नम्बरमा ड्यानियल साम्स छन् । सिड्नी थन्डरका साम्सले २ खेलमा ६ विकेट लिएका छन् ।

यसैगरी सन्दीप उत्कृष्ट स्ट्राइक रेटको सूचीमा पाँचौं नम्बरमा छन् । सन्दीपको स्ट्राइक रेट ९.६ रहेको छ । यस्तै सन्दीपको बलिङ इकोनोमी ७.५० छ ।

विश्वचर्चिच फ्रेन्चाइज लिग आईपिएल, सिपिएल, एपिएल, ग्लोबल टि–२० र टि–१० लिग खेल्दै सन्दीपले आफ्नो प्रतिभा देखाइसकेका छन् । उनले विश्व–११ मा पनि प्रतिनिधित्व गरेका छन् । यसैगरी उनी सन्दीप आसन्न पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगमा पनि आबद्ध छन् ।