सन्दीपको टिम आज ढाका डाइनमिट्ससँग भीड्दै

नेपाली युवा लेगस्पिर सन्दीप लामिछाने आबद्ध सिल्हेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बिपिएल)को तेस्रो खेलमा शनिबार ढाका डाइनमिट्ससँग भीड्दै छ । बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार शनिबार बेलुकी ६ः१५ मा हुने छ ।

अघिल्लो खेलमा चट्गाउँ भाइकिंग्सलविरुद्ध ५ रनको सनसनीपूर्ण जित निकालेको सिल्हेट सिक्सर्सले ढाका डाइनमिट्सविरुद्ध पनि जित निकाल्दै आफूलाई थप आत्मविश्वासी बनाउन चाहन्छ । तर, ढाकालाई पारजित गर्न सिल्हेटलाई त्यति सहज भने हुने छैन ।

प्रतियोगिताका तीनवटै खेलमा जित निकालेको ढाका अहिले उत्कृष्ट लयमा छ । उसलले अघिल्ला खेलमा खुल्ना टिटन्स, राज्शही किंग्स र रंगपुर राइर्डसलाई पराजित गरेको छ । सिल्हेट भने पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सिल्हेटले चट्गाउँलाई ५ रनले पारजित गरेको थियो ।

सिल्हेट डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रने छ भने ढाकाको नेतृत्व सकिब अल हसनले गर्ने छन् । सिल्हेटमा वार्नर र सन्दीपसँगै सब्बिर रहेमान, लिटोन दास, निकोलस पुरन, एन्ड्रयु फ्लेचरलगायत खेलाडी छन् ।

यसैगरी ढाका भने स्टार खेलाडीले भरिएको छ । ढाकामा सकिबमा अलावा सुनिल नारिन, इआन बेल, आन्ड्रे रसेल, किरेन पोलार्ड, रुवेल हसनलगायत खेलाडी छन् ।

सन्दीपको उत्कृष्ट प्रदर्शन
बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चित बनेका युवा लेग स्पिनर सन्दीप लामिछानेले बिपिएमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीप बिग ब्यास लिगलाई बीचमै छाड्दै बिपिएल खेल्न बंगलादेश आएका थिए ।

सन्दीपले बिपिएलको डेब्यूलाई शानदार बनाउने क्रममा कोमिल्ला भिक्टोरियन्सविरुद्ध २ विकेट लिएका थिए । कोमिल्लाविरुद्ध सन्दीपले ४ ओभरमा १६ रन खर्चिएका थिए । सन्दीपले पाकिस्तानी अनुभवी खेलाडी सोएब मल्लिकलाई सब्बिर रहेमानबाट क्याच आउट गराएका थिए भने अनमुल हकलाई क्लिन बोल्ड गरेका थिए ।

दोस्रो खेलमा चट्गाउँ भिक्टोरियन्सविरुद्ध विकेटबिहीन बने पनि सन्दीपको प्रदर्शन उत्कृष्ट थियो । सिल्हेटका बलरले लगातार धेरै रन दिइरहेका बेला बलिङमा आएका सन्दीपले कसिलो बलिङ गरेका थिए । उनले अघिल्ला ३ ओभरमा कसिलो बलिङ गर्दै १२ रन मात्र दिँदै चट्गाउँमा ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । अन्तिम ओभरमा केही महँगो बनेका सन्दीपले ९ रन दिएका थिए ।

सिल्हेटलाई पहिलो जित दिलाउन सन्दीपले उत्कृष्ट फिल्डङ गरे । विस्फोटक इनिङ खेलिरहेका क्यामेरुन डेलपोर्टलाई डाइरेक्ट हिटमा रन आउट गर्दै सिल्हेटलाई खेलमा फर्काएका थिए । डोलपोर्टले आउट हुनुअघि २१ ब्लमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाएका थिए ।