ब्राजिल र अर्जेटिनाले खेले बराबरी, अर्जेन्टिना विश्वकपमा

कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा दुई पावरहाउ टिम ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्। बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

यो बराबरीसँगै दुवै टिमले विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई १३ खेलसम्म नियरन्तरता दिएका छन्। अपराजित ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ भने अर्जेन्टिनाले पनि कतारको टिकट काटेकाे छ।

स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो । खेलमा दुवै टिमले समान ९ सट प्रहार गरेका थिए, जसमा अर्जेन्टिाको ३ सट फ्रेममा थियो भने ब्राजिलले २ सट मात्र फ्रेममा प्रहार गर्न सक्यो।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ ।