ब्राजिलका डिफेन्डरले आफ्नै टिमका स्ट्राइकरलाई मैदानमै कुट्न थालेपछि…

टर्किस लिगमा गालातासरे र गिरेसन्स्परबीच सुपर लिगअन्तर्गतको खेल भइरहेको थियो। गालातासरे दुई गोलको अग्रतासहित जिततर्फ अग्रसर थियो।

तर, त्यत्तिकैमा गालातासरेका ब्राजिलियन डिफेन्डर मार्काओ जंगिएर टिमका विंगर केरेम अक्टुरकोग्लु भएतिर गए। उनले आफ्नो टाउकोले ड्याङ्गै अक्टुरकोग्लुको टाउकैमा हिर्काए।

मार्काओ त्यतिमै रोकिएनन्। टाउकाले हानेपछि उनले केरेमको अनुहारमै दुई मुक्का समेत हाने। त्यतिन्जेलमा भने गालातासारेका अरु खेलाडी पनि उनीहरु भएको ठाउँमा आइसकेका थिए। उनीहरुले दुईजनालाई तानेर छुटाउनु परेको थियो।

यो खेलको ६१औं मिनेटमा घटेको घटना थियो। उनीहरु मैदानको बीचतिर कुटाकुट गर्दै थिए भने बल मैदानको अर्कै भागमा थियो। जसकारण रेफ्रिले उनीहरुबीचको लफडा के थियो भनेर देख्न सकेनन्।

रेफ्रिले भारको सहायतामा रिप्ले हेरे र तत्काल मार्काओलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए।

टर्किस लिगको नियम अनुसार मार्काओको सो हत्कण्डा ‘सांघातिक हमला’को वर्गमा पर्दछ। यसका लागि उनलाई ५ देखि १० खेलको प्रतिबन्ध लाग्न सक्छ। गालातासारेले पनि मार्काओलाई नियम अनुसार कारबाही गर्ने बताएको छ।

टिमका म्यानेजर फतिह तेरिमले मार्काओसँग आफुले कुरा गर्ने बताएका छन्। तर, ब्राजिलियन डिफेन्डरले विंगर केरेमसहित टिमका सबै साथहरुसँग माग्नु पर्नेमा उनले जोड दिएका छन्।

‘क्लबले आवश्यकता अनुसार कारबाही गर्नेछ। मार्काओले भने यस्तो व्यवहारका लागि केरेम तथा आफ्ना सम्पूर्ण साथीहरुसँग माग्नेछन्,’ तेरिमले भनेका छन्।

१० खेलाडीमा सिमित भएपनि खेलमा जित भने गालातासारेले नै हात पारेको छ।

फुटबलमा एउटै टिमका दुईजना खेलाडी मैदानमै कुटाकुटमा ओर्लिएको यो पहिलो घटना भने होइन। यसअघि सन् २००५ मा प्रिमियर लिगमा पनि यस्तै घटना भएको थियो। यो फुटबलको सबैभन्दा कुख्यात समाचारमध्येमा पर्दछ।

एस्टन भिल्लाले न्युक्यासल युनाइटेडको सामना गरिरहेको थियो। एक्कासी न्युक्यासल युनाइटेडका तत्कालिन खेलाडीद्वय किएरोन डायर र ली बोयर मैदानमा मुक्का हानाहान गर्न गाले।

यसैगरी, च्याम्पियन्स लिगमा समेत यस्तो घटना दोहोरिएको छ। सन् १९९५ को च्याम्पियन्स लिगमा ब्लाकबर्न र स्पार्टाक मस्को खेलिरहेका थिए। यत्तिकैमा ब्लाकबर्नका ग्रेम ले ससक्सले आफ्नै टिमका खेलाडी डेभिड ब्याट्टिसँग टसल पर्यो र उनले मैदानमै आफन साथीमाथि मुक्का प्रहार गरेका थिए।

गालातासारेमा भने यस्तो भएको पहिलोपटक हो। मार्काओ २०१९ मा गालातासारेमा अनुबन्ध भएका थिए। दुई वर्षमा उनले टिमका लागि १०७ खेल खेलिसकेका छन्।

आफ्नै टिमका साथीलाई हमला गरेका कारण उनलाई १० खेलमा प्रतिबन्ध लाग्ने सम्भावना छ।