मेसी र नेमारविनै पिएसजीको सहज जित

आफ्ना स्टार खेलाडीहरु लियोनल मेसी र नेमारविनै मैदानमा उत्रिएको पिएसजीले लिग वानमा सहज जित हात पारेको छ। मेसी र नेमारविनै लगातार तेस्रो जित निकाल्ने क्रममा पिएसजीले ब्रेस्टलाई उसकै मैदानमा ४–२ले हरायो।

पिएसजीको जितमा एन्डर हरेरा, किलियन एम्बाप्पे, इद्रिसा गुए र एन्जेल डि मारियाले गोल गरे। यता, ब्रेस्टका फ्रांक होनोराट र स्टिभ मौनीले गोल गरेका थिए।

२३औं मिनेटमा हरेराले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए। ३६औं मिनेटमा एम्बाप्पेले पिएसजीको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा ब्रेस्टका फ्रांक होनोराटले गोल गर्दै पहिलो हाफमा खेलालाई २–१को अवस्थामा ल्याए ।

७३औं मिनेटमा गुएले हरेराको पासमा गोल गर्दै पिएसजीलाई ३–१को सहज अवस्था ल्याए । ८५औं मिनेटमा ब्रेस्टका मौनीले गोल गरेपछि खेल ३–२मा आयो । तर, इन्जुरी समयमा अचर्फ हाकिमीको पासमा गोल गरेपछि पिएसजीले ४–२को जित निकाल्यो।

लगातार तेस्रो जित निकालेको पिएसजी ९ अंक सहित लिग वानको शीर्ष स्थानमा छ। उसले टोयर्सलाई २–१ले र स्ट्रार्सवर्गलाई ४–२ले हराएको थियो।