चम्किए दिनेश, एपिएफविरुद्ध ब्रिगेड बोइजको जित

सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड बोइज क्लबले सुखद् सुरुआत गरेको छ। दिनेश राईले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार भएको पहिलो खेलमा ब्रिग्रेड बोइज क्लबले विभागीय टिम नेपाल एपिएफ क्लबलाई ३–२ ले हरायो।

ब्रिगेड बोइजको जितमा दिनेश राईले दुई गोल गरे भने सुरज गुरुङले एक गोल गरे । यता, एपिएफका आशिष लामा र बिके तामाङले गोल गरेका थिए।

दशरथ रंगशालमा भएको खेलमा ११औं मिनेटमै दिनेशले गोल गर्दै ब्रिगेड बोइजलाई अग्रता दिलाए। उनले फ्रिकिकमा गोल गरेका थिए। १७औं मिनेटमा एपिएफले बराबरी गोल फर्कायो। उसका आशिष लामाले गोल गरेका थिए।

६५औं मिनेटमा दिनेश राईले ड्याड्डी जुनियरको पासमा गोल गर्दै खेलमा ब्रिगेड बोइजलाई पुनः अग्रता दिलाए। ७७औं मिनेटमा एपिएफले फेरि बराबरी गोल ग¥यो। उसका बिके तामाङले रवि थिङको पासमा बराबरी गोल फर्काए। इन्जुरी समयमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड बोइज विजयी भयो।