आयोजक दक्षिण अफ्रिका महिला टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। केपटाउनमा शुक्रबार राति भएको खेलमा इंग्ल्यानडमाथि ६ रनको जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो।
अब उसले उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको सामाना गर्नेछ। अस्ट्रेलिया भारतलाई हराउँदै फाइनल पुगेको हो।
पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा १५८ रन मात्रै बनाउन सक्यो । उसका लागि नाट सिक्भर ब्रन्ट सर्वाधिक ४० रन बनाउँदा ड्यानी वाटले ३४ र हेथर नाइटले ३१ रन बनाए।
दक्षिण अफ्रिकाका अयाबोन्गा खाकले ४ तथा सम्बनिम इस्माइलले ३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा १६४ रन बनायो । उसका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले। तज्मिन ब्रिट्सले ५५ बलमा सर्वाधिक ६८ रन बनाउँदा लाउरा वोल्भार्टले ५३ रन बनाइन्।
इंग्ल्यान्डकी सोफी इक्लेस्टोनले ३ विकेट लिइन् ।