ला लिगामा बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ। सोमबार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना काडिच सिटीसँग १–० ले पराजित भएको हो।
बार्सिलोनाविरुद्ध काडिचलाई जित दिलाउन ४८औं मिनेटमा लुकास पेरेजले निर्णायक गोल गरे। त्यसपछि खेलमा गोल नहुँदा बार्सिलोना घरमै स्तब्ध भयो।
खेलमा अधिकांश सयम कार्डिचलाई दबाबमा राखे पनि बार्सिलोनाले गोल भने गर्न सकेन। उसले ७६ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो । यता, काडिचले ६ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।
यो हारसँगै बार्सिलोनाको १५ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेको छ। बार्सिलाना डिसेम्बर ४ यता ल लिगामा पहिलो पटक पराजित भएको हो।
यता, बार्सिलोना पराजित भएसँगै ला लिगाको उपाधि यात्रामा रियल मड्रिड थप बलियो भएको छ। ६ खेल मात्र बाँकी रहँदा शीर्ष स्थानमा उसले १५ अंकको अग्रता बनाएको छ।
रियलले ३२ खेलमा ७५ अंक जोडेको छ भने दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडको समान ६० अंक छ । यद्यपि बार्सिलोनाले १ खेल कम खेलेको छ।
यता, बार्सिलोनामाथिको जितसँगै काडिचले पनि रेलिगेसन जोन छाडेका छन्। ऊ ३१ अंकसहित १६औं स्थानमा उक्लिएको छ।