कतारमा कस्ले जित्ला उँटको विश्वकप ?

अहिले कतारमा फुटबलको महाकुम्भ विश्वकप चलिरहेको छ। मरुभूमिको देश कतारमा फुबटलको विश्वकपमात्र होइन, उँटहरुको विश्वपक पनि चलिरहेको छ।

प्रतियोगितामा विभिन्न गल्फ राष्ट्रका उँटहरु सहभागी छन् । गल्फ क्षेत्रको सभ्यता र त्यहाँका मानिसको दैनिकीसँग जोडिएको उँट विश्वकपको उद्देश्य खेल पर्यटनलाई टेवा पुर्‍याउनु हो।

कतार क्यामल मजायन क्लब्स ब्युटी फेस्टिभलमा गल्फ राष्ट्रका उँटहरु प्रतिस्पर्धाका लागि जम्मा भएका छन् । फिफा विश्वकपबाटै यो प्रतियोगिता आयोजना गर्ने सोचको जन्म भएको हो।

क्लबका अध्यक्ष हमाद जाबेर अल अथ्बाकाले, गल्फ क्षेत्रमा उँटको महत्त्व मध्यनजर गर्दै विश्वकप आयोजना गरिएको जानकारी दिए । कतारसहित पूरै अरबको संस्कृति विश्व माझ पुग्ने आयोजकको विश्वास छ ।

फिफा विश्वकपका लागि लाखौ समर्थक दोहा पुगेका छन् । फुटबलको मज्जासँगै उँटको प्रतिस्पर्धाले उनीहरुको दोहा बसाइलाई थप रोमाञ्चक बनाइरहेको छ । उँटको उमेर र प्रजातिका आधारमा विधा छुट्याएर प्रतिस्पर्धा गराइन्छ । कालो उँटलाई शरीरको आकार, टाउको र कानको स्थानका आधारमा विजेता घोषणा गरिन्छ।

यस्तै मघतिर प्रकारको उँटमा समानता खोजिन्छ । उसको कान सीधा हुनु हुँदैन । अर्थात् कान तल झरेको र मुख बक्र आकारको हुनुपर्ने आयोजकको भनाइ छ ।

विजेता बन्न उँट धनीहरुले चलाखी पनि गर्ने गर्छन् । त्यसका लागि नियममा कडाइ गरिएको छ । कस्मेटिक सर्जरी र अन्य कृत्रिम कार्यबाट बच्न प्रतियोगितामा आउनुपूर्व मेडिकल टिमले उँटको जाँच गर्छन् । यस्तो गरेको पाइएमा त्यस्ता उँट प्रतिस्पर्धाका लागि अयोग्य ठहरिन्छन्।

जुन उँटले सबैभन्दा बढी दूध दिन्छ उसले पहिलो स्थान प्राप्त गर्छ । र, उसले २० रियाल प्राप्त गर्ने छ।

यो उँट विश्वकपमा अधिकांशको ध्यान चार वर्षमाथिका मघतिर प्रकारका उँटहरुबीचको प्रतिस्पर्धाले तानेको छ। यो विधाको विजेताले अघिल्लो विजेताले भन्दा दश गुणा बढी पुरस्कार पाउँछ ।

प्रतियोगिताको सफलताले उँटको संरक्षणमा ऊर्जा मिलेको आयोजकको भनाइ छ ।