प्रशिक्षक नियुक्त गर्न क्यानले एक साताभित्र दर्खास्त आव्हान गर्ने

नेपाली राष्ट्रिय क्रिकेट मिटको मुख्य प्रशिक्षक नियुक्त गर्न नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक खुला दर्खास्त आव्हान गर्ने भएको छ । सोमबार बसेको क्यान कार्यसम्पादन कमिटीको बैठकले मुख्य प्रशिक्षक नियुक्तीका लागि एक साताभित्र दर्खास्त आव्हान गर्ने निर्णय गरेको हो ।

गत माघमा उमेश पटवालले राजिनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षकबिहीन छ । गत चैतमा क्यानले जिम्बाबेका प्रशिक्षक रहेका भारतीय मुलका लालचन्द राजपुतलाई ल्याउने प्रयास गरेको थियो, अन्तिमसमयमा राजपुतले जिम्बाबेसँग सम्झौता गरेपछि क्यान उनलाई ल्याउन असफल भएको थियो ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)सँग छलफल गरेर एक साताभित्र मुख्य प्रशिक्षकका दर्खास्त आव्हान गर्ने जनाएको छ । मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय क्यान कार्यसम्पादन कमिटीले गरेको छ ।

यसैगरी शुक्रबार बसेको कार्यसम्पादन कमिटीको बैठकले प्रदेशका लागि पनि ७ जना प्रशिक्षकका लागि दर्खास्ता आव्हान गर्ने निर्णय गरेको छ । यस्तै बैकठले विक्रम न्यौपानेलाई नेपाली टिमको पूर्णकालीन फिजियोको रुपमा नियुक्त गरेको छ ।

कार्यसम्पादन कमिटीले केन्द्रीय कमिटिका सदस्य जयन्ती भट्टको सयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गरेको छ । यस्तै, मुलपानी क्रिकेट मैदानमा ७ जना कर्मचारी गर्ने निर्णय गरिएको छ भने पोखरा, भैरहवा र विरगञ्जका लागि एक–एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय गरिएको छ ।