नेपाललाई चोटको चिन्ता

अस्ट्रेलियामा आगामी वर्ष आयोजना हुने टि–२० विश्वकपको एसिया छनोटको बलियो दाबेदार नेपालले कतारसँग अप्रत्यासित रुपमा पराजित भएको छ । यो पराजयसँगै नेपालाई हार र चोटको पीडा एकैसाथ आइपरेको छ ।

कतारविरुद्धको खेलका क्रममा कप्तान पारस खड्का घाइते भएका छन् । ज्ञानेन्द्र मल्लसँगै ओपनिङमा आएका पारसले सुरुवातमै उफ्रिँदा कम्मरमा दुखाइको महसुस गरेका थिए । त्यसपछि असहज अवस्थामै ब्याटिङ गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले ज्ञानेन्द्र मल्लसँग कीर्तिमानी ४९ रनको साझेदारी गरेका थिए ।

कम्मरको दुखाई बाबजुद आक्रामक ब्याटिङ गरेका पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाएर आउट भएका थिए । दोस्रो इनिङमा भने कम्मर दुखाइकै करण मैदानमा आउन सकेनन् । पारसका अनुपस्थितिमा ज्ञानेन्द्रले दोस्रो इनिङको कप्तानी गरेका थिए ।

नेपालले भोलि जित्नै पर्ने स्थितिमा रहेको खेलमा बलियो मलेसियाको सामाना गर्दै छ । मलेसियाविरुद्ध पारसले खेल्न सक्छन् वा सक्दैन् त्यसको टुंगो अझै लाग्न सकेको छैन । यदि पारस खेल्न नसके नेपालको विश्वकप छनोट यात्रा निकै कठीन बन्ने छ । पारस नेपाली क्रिकेट टिमका सबैभन्दा भरपर्दा ब्याट्सम्यान हुन् ।