तनावपूर्ण खेलमा एट्लेटिको मड्रिड विजयी

डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक र तनावपूर्ण खेलमा एट्लेटिकोले सेल्टा भिगोमाथि २–१को जित निकाल्यो।

एट्लेटिकोको जितमा एन्जल कोरेयाले दुवै गोल गरे भने सेल्टा भिगोका लागि इयागो आसपाले गोल गरे। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल भएको थियो।

२३औं मिनेटमा थोमस लेमारको पासमा कोरेयाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। त्यसपछि ५९औं मिनेटमा कप्तान आसपासले गोल गर्दै खेललाई बराबरीमा ल्याए । डिबक्समा मार्कस लोरेन्टेले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए।

त्यसपछि ६४औं मिनेटमा साउलको पासमा कोरेयाले नै गोल गर्दै एट्लेटिकोलाई २–१को जित दिलाए । खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे। इन्जुरी समयको पाँचौं मिनेटमा झगडामा उत्रिएपछि मारियो हेर्मोसो र सेल्टा भिगोका ह्युगो मालोलाई रेफ्रीले रातो कार्ड दिएका थिए।