विराट कोहलीको कप्तानीमा रहको रोयल च्यालेन्जर्स बैंग्लोर १३औं संस्करणको आईपिएलमा विजयी सुरुवात गरेको छ । सोमबार दुबईमा भएको खेलमा देवदुत पाडिकल तथा एबी डी भिलियर्सले ब्याटिङमा र युजभन्द्र चहल बलिङमा चम्किएपछि बेंग्लोरले सनराइजर्स हैदरावादलाई १०ले पराजित गरेको हो ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हैदरावादले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गर्दै बेंग्लोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा अलआउट हुँदै १५३ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि जोनी बेइस्ट्रोले सर्वाधिक ६१ रन बनाए भने मनिष पाण्डेले ३४ रन बनाए । बेइस्ट्रोले ४३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे भने पाण्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यी दुई दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै हैदरावादलाई बलियो अवस्थामा पु¥याएका थिए । अन्यले गतिलो योगदान नदिँदा हैदरावाद पराजित भयो ।
बेंग्लोरका लागि चहलले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, नवदीप सैनी र शिवम दुवेले २ विकेट लिए भने डेल स्टेनले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको बेंग्लोर भिलियर्स र देवदुत पाडिकलको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाए । आईपिएलमा डेब्यू गरिरहेका पाडिकलले ४२ बल खेल्दै सर्वाधिक ५६ रन बनाए भने भिलियर्सले ३० बलमा ५१ रन बनाए ।
पाडिकल र आरोन फिन्चले पहिलो विकेटका लागि ९० रनको साझेदारी गर्दै बेंगोलरलाई राम्रो सुरुवात दिलाएका थिए । फिन्चले २९ रन बनाए । यस्तै, केहलीले १४ रनको योगदान दिए । हैदरावादका टि नटराजन, विजय शंकर र अविशेक शर्माले समान १ विकेट लिए ।