चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि २–०को जित निकाल्दै चेल्सीले अन्तिम ८मा स्थान बनाएको।
दोस्रो लेगको २–०को जितसँगै उसले समग्रमा २–१को जित निकाल्यो । पहिलो खेलमा डर्टमन्ड १–०ले विजयी भएको थियो।
चेल्सीलाई जिताउन रहिम स्टर्लिङ र काई हाभर्टजले गोल गरे।
खेलको ४३ औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। ५० औं मिनेटमा काई हाभर्टज पेनाल्टी चुकाए पनि ५३ औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएपछि रेफ्रीले भिएआरको सहायतामा चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए।
यस्तै, अर्को खेलमा बेल्जियमको क्लब ब्रुगमाथि प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगमाथि ५–१ को तथा सम्रगमा ७–१ को सानदार जित निकाल्दै बेन्फिका अन्तिम आठमा पुगेको हो।
बेन्फिकाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।
गएराति घरेलु मैदान लिस्वोआमामा बेन्फिकालाई जिताउन गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले १-१ गोल गरे। क्लब ब्रुगका विजोर्न मेइजेरले एक गोल फर्काए।

खेलको ३८औं मिनेटमा राफा सिल्भाले गोन्कालो रामोसको पासमा गोल गर्दै बेन्फिकालाई सुरूआती अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा जोआओ मारियोको पासमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे।
एलेक्स ग्रिमाल्डोको पासमा ५७ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। सहज जिततर्फ अगाडि बढेको बेन्फिकाका लागि ७१औं मिनेटमा जोआओ मारियाले पेनाल्टीमा गोल गर्दै ४–० ले अघि बढाए।
७७ औं मिनेटमा डेभिड नेरेशले गोल गरेपछि बेन्फिका खेलमा ५–० ले अघि बढ्यो। तर ८७ औं मिनेटमा विजोर्न मेइजेरले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए पनि त्यसपछि गोल हुन नसक्दा बेन्फिकाले खेल ५-१ ले जित्यो।