आफ्नो प्रमुख खेलाडीहरु नेमार, किलियन एम्बाप्पे र एडिन्सन काभानीबिना नै मैदान उत्रिएको फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुवात गरेको छ । तीन स्टार खेलाडीको अनुपस्थितिम कमजोर आँकलन गरिएको पिएसजीले च्याम्पियन्स लिगकै सर्वाधिक सफल टिम स्पेनिस जाइन्ट रियल म्याड्रिड ३–०को नमीठो हार चखायो ।
नेमारमाथि च्याम्पियन्स लिगमा प्रतिबन्ध लागेको तथा एम्बाप्पे र काभानी घाइते भएकाले रियलविरुद्धको खेलमा मैदानमा थिएनन् । तर, पिएसजीको प्रदर्शनमा उनीहरुको अवभा खड्किएन । उनीहरुको अनुपस्थितिमा एन्जेल डि डिमारियालले उत्कृष्ट प्रर्दन गर्दै टिमलाई जिताए ।
अघिल्लो सिजन घरेलु लिग र च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेपछि रियलले जिनेदिन जिदानलाई सिजनको बीचमै पुनः प्रशिक्षक बनाएको थियो । तर, जिदानका पुनरागमन सुखद् हुन सकिएको छैन ।
रियललाई लगातार तीन च्याम्पियन्स लिग उपाधि दिलाएका जिदान पहिलो खेलमै पिएसजीसँग ३–० को हार बेहोर्न पुगे । रियलले टिम सशक्त बनाउने थुप्रै रकम खर्चिएको थियो । उसले इडेन हाजार्ड, फ्रेलान्ड मेन्डी, इडर मिलिटाओ, लुका जोभिच र रोड्रिगोलगायत खेलाडी किनेको थियो । ती मध्ये पिएसजीविरुद्ध हाजार्ड, मेन्डी र मिलिटाओ पहिलो रोजाई परेका थिए भने जोभिच दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर, उनीहरुको उपस्थितिले रियलको खराब लयलाई रोक्न सकेन ।

पिएसजीको घरेलु मैदानम भएको खेलमा पिएसजीलाई जित दिलाउन डि मारियाले २ गोल गरे भने थोमस मुनियरले १ गोल गरे । पिएसजीले रियलविरुद्ध पहिलो हाफमै २–०को अग्रता कायम गरेको थियो । डि मारियाले १४ औं र ३३ औं मिनेटमा गोल गरेका थिए भने मुनियरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
च्याम्पियन्स लिगको पहिलो खेलमा रियलको यो सबैभन्दा फराकिलो हार हो । यसअघि रियल सन् २००४ मा बायर लिभरकुसनसँग र सन् २००५ मा लियोनसँग समान ३–०ले पराजित भएको थियो । यस्तै, रियलले पिएसजीविरुद्ध एउटै पनि सट टार्गेटमा प्रहार गर्न सकेन्, च्याम्पियन्स लिग इतिहासमा रियलले एउटै सट टार्गेटमा प्रहार गर्न नसकेको यो पहिलो पटक हो ।
यसैगरी रियल म्याड्रिड च्याम्पियन्स लिगमा लगातार दुई खेलमा पराजित भयो । अघिल्लो सिजन रियल अन्तिम १६ को दोस्रो खेलमा आयाक्ससँग पराजित भएको थियो । रियल लागतार दुई खेलमा पराजित भएको सन् २०१३ अप्रिल पछि यो पहिलो पटक हो ।