च्याम्पियन्स् लिग : मेसीबिनाको बार्सिलोनाले इन्टर मिलानलाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत सेभिल्लाविरुद्धको खेलमा दायाँ हात भाँचिएपछि कप्तान मेसी बिना नै मैदानमा उत्रेको बार्सिलोनाले च्याम्पियन्स् लिगको तेस्रो खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नेउमा भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २–०ले पराजित गर्दे च्याम्पियन्स् लिगमा शतप्रतिशत नतिजा निकालेको छ । शतप्रतिशत नतिजा निकालेको बार्सिलोनाले ९ अंक जोड्दै समूह बीको शीर्ष स्थानमा छ भने इन्टर मिलान ६ अंकका साथ दस्रो स्थानमा छ । यस्तै, टोट्नह्याम र पिएसभी इन्डहोभेनको १–१ अंक मात्र छ ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे । खेलको ३२औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले इन्टरमाथि १–० को अग्रता लिएको थियो । उनले लुइस सुआरेजको क्रसमो गोल गरेका थिए ।

८३औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दैै बार्सिलोनाको जित निश्चित गरेका थिए । उनले इभान राकाटिचको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

बुधबार राति क्याम्प नेउमा भएको खेल बार्सिलोनाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको थियो । उसले ६८ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो । बार्सिलोनाले खेल अवधिमा इन्टरको पोस्टमा २१ प्रहार गरेको थियो । जसमध्ये ११ प्रहार टार्गेटमा थियो । यस्तै इन्टर मिलानले ९ सट मात्र प्रहार गरेकोमा २ सट मात्र टार्गेटमा प्रहार गरेको थियो ।

खेलमा २२ फाउल गरेको इन्टर मिलानका तीन खेलाडीले पहेँलो कार्ड पाएका थिए भने बार्सिलोनाले ११ फाउल गर्दा एउटा मात्र पहेँलो कार्ड पाएको थियो ।

समूह बीकै अर्को खेलमा इंग्लिस क्लब टोटनह्याम हर्सपर बराबरीमा रोकिएको छ । उसलाई पिएसपी इन्डहोभेनले २–२ को बराबरीमा रोकेको हो । टोनटह्यामका लागि लुकास माउरा र ह्यारी केनले गोल गरेका थिए भने पिएसभीका लागि हिर्भिङ लोजानो र लूक डे जोङले गोल गरेका थिए । टोटनह्याम च्याम्पियन्स लिगमा अझै जित बिहीन छ ।