°
, May 29, 2023 in

च्याम्पियन्स लिग सेमिफाइनल : स्पेन भर्सेस इंग्ल्यान्ड

SHARE:

क्बल फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलका खेलहरु आजबाट सुरु हुँदै छ। यो पटक सेमिफाइनलमा स्पेनिस र इंग्लिस क्लबबीच भीडन्त हुनेछ।

जसमा स्पेनका दुई क्लब रियल म्याड्रिड र भिल्लारियल छन् भने उनीहरुविरुद्ध दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल उभिने छन्।

मे २८ मा पेरिसमा हुने फाइनलमा सिटी र लिभरपुल भिडे भने त्यो चार वर्षयता फाइनलमा उत्रने दुई इंग्लिस क्लबको तेस्रो संयोग हुनेछ । टेलिभिजन प्रशारण अधिकार बेचेर प्रिमियर लिगले पर्याप्त कमाउन गरेको छ ।

त्यसैबाट प्रभावित रहेर रियलले युरोपेली सुपर लिगको सोच प्रस्तुत गरेको थियो । तर भिल्लारियल सेमिफाइनल पुगेको हुनाले त्यस्तो धारणा ठीक छैन भन्ने दाबी सही देखिएको छ । आफ्नो पूरा इतिहासमै एकै ठूलो उपाधि मात्र जितेको ‘एलो सबमेरिन’ ले ईएसएल भएको भए भाग पनि लिन पाउँदैनथ्यो । त्यसमा सिटी र लिभरपुल भने सामेल रहेका थिए ।

भिल्लारियल त्यस्तो सहरको क्लब हो, जसको पूरा जनसंख्या लिभरपुलको घरेलु मैदान एनफिल्डमा अट्ने गर्छ । उसले लिभरपुललाई रोक्ने हो भने इंग्लिस क्लबको एकै सिजन चार उपाधि जित्ने अभियान टुट्न सक्छ । यसका लागि भिल्लारियलसामु १ सय ८० मिनेटको अवसर छ । घरेलु लिगमा भने योर्गन क्लोपको लिभरपुल सिटीभन्दा एक अंकले मात्र पछाडि छ । लिगमा पाँच चरणको खेल बाँकी छ ।

तर, लिभरपुलले अर्को महिना हुने एफए कप फाइनलमा पुग्नबाट सिटीलाई सेमिफाइनलमा रोकेको छ । टोलीले यसअघि नै फेब्रुअरीमा लिग कप भने जितिसकेको छ । क्लोपको नेतृत्वमा लिभरपुलले यसअघि नै भिल्लारियलविरुद्धको खेल गुमाइसकेको छ । जतिबेला प्रशिक्षक उनाइ एमरी थिए । सन् २०१६ को युरोपा लिग फाइनलमा सेभियाले लिभरपुललाई हराएको थियो, जहाँ एमरी प्रशिक्षक थिए ।

एमरीले जितेका चार युरोपा लिग उपाधिमध्ये यो एक थियो । त्यसमध्ये अन्तिम उपाधिका लागि गत वर्षमात्रै उसले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो र त्यसमै टिकेर च्याम्पियन्स लिगका लागि छनोट भएको थियो । क्लोप पनि मान्छन्, ‘एमरी कप प्रतियोगिताका राजा हुन्, उनले जे जस्तो गरिरहेका छन्, त्यो अविश्वसनीय छ । उनी कप प्रतियोगिताका सबैभन्दा सफल प्रशिक्षक हुन् ।’

एनफिल्डमा बुधबार हुने पहिलो लेगको खेलका लागि लिभरपुल नै जितका लागि बढी हकदार देखिन्छ । क्लबको आम्दानी र अन्य स्रोतका कारण पनि यस्तो अनुमान गर्न सकिन्छ । सिटी पनि लगातार दोस्रो वर्ष फाइनल पुग्ने अनुमान गर्न सकिन्छ । भलै, उपाधि जितेको आधारमा सिटी रियलभन्दा धेरै पछाडि छ । तर दुई वर्षअगाडि अन्तिम १६ मै यी दुई टिमको भेट हुँदा पेप ग्वार्डिओलाको सिटी सजिलै विजयी भएको थियो ।

ग्वार्डिओला भन्छन्, ‘हामीले तेस्रोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल खेल्दैछौं र संयोगले ती तीनै टिम उपाधि हकमा हामीभन्दा धेरै अगाडि छन् । हाम्रा लागि पक्कै पनि यो निकै महत्त्वपूर्ण खेल हुनेछ । हामीले यसमा सक्दो गर्नेछौं ।’ सेमिफाइनल पुग्ने क्रममा रियलले पहिलो लेगमा चेल्सीविरुद्ध दुई गोलले पछाडि रहेको स्थिति उल्टाएको थियो । यस्तै पीएसजीसँग पनि पछाडि रहेको स्थितिबाट खेलमा फर्केको थियो ।

कार्लो एन्सेलोट्टीको टिमलाई अर्को साता घरमै हुने दोस्रो लेगको खेलको फाइदा हुनेछ । तर मुख्य प्रश्न के हो भने करिम बेन्जेमा र लुका मोड्रिच जस्तो उमेर ढल्कँदै गएका खेलाडीको मदतमा मात्र यो टिम कति अगाडि बढ्न सक्छ । क्लोप र ग्वार्डिओलासामु ऐतिहासिक उपलब्धि हात पार्ने अवसर छ । अर्को १० दिनभित्र च्याम्पियन्स लिगमा इंग्लिस क्लबको प्रभुत्व फेरि सिद्ध हुनसक्ने छ ।

-कान्तिपुर

SHARE: