टि–२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई हरायो

टि–२० विश्वकपको सुपर १२ श्रीलंकाले विजयी सुरुआत गरेको छ। आइतबार सारजाहमा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सुपर १२मा विजयी सुरुआत गरेको हो।

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि चरित असलंकाले अविजित ८० रन बनाए भने भानुका राजापाक्षेले ५३ रन जोडे ।

७९ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंकाका लागि चरितले भानुकासँग ८६ रनको साझेदारी गरेका थिए । पथुम निशंकाले २४ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । बंगलादेशका सकिब अल हसन र नसुम अहमदले समान २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि मोहम्मद नइमले ६२ रन बनाए भने मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान दिएका थिए । नइमले ५२ बलमा ६ चौका प्रहार गर्दा रहिमले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। श्रीलंकाका चमिका करुणारत्ने, विनुरा फर्नान्डो र लहिरु कुमाराले समान १ विकेट लिए।