लन्डन क्लब चेल्सीले इंग्लिस प्रियिमर लिगमा सानदार जित हात पारेको छ । शनिबार साँझ भएको खेलमा क्रिस्टल प्यालेसलाई ४–०ले पराजित गर्दै चेल्सीले सानदार जित निकालेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउने क्रममा जर्गिन्होले २ गोल गरे भने बेन चेलविल र कोर्ट जुमाले समान १–१ गोल गरे ।
पहिलो हाफ बरारबीमा सकिएको खेलमा चेल्सीले दोस्रो हाफमा ४ गोल गरेको थियो । ५०औं मिनेटमा चेलविलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यसैसिजन लेस्टर सिटीबाट चेल्सी आएका चेलविलले डेब्यू खेलमै गोल गर्न सफल भए ।
यस्तै, ६६औं मिनेटमा जुमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । त्यसपछि ७८ र ८२औं मिनेटमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । जर्गिन्होले दुवै गोल पेनाल्टीमा गरेका थिए । दुवै पटक क्रिस्टल प्यालेसका डिफेन्डरले चेल्सीका खेलाडीलाई डिबक्समा लडाएका थिए । अघिल्लो खेलमा लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका जर्गिन्होले शनिबार भने दुवै अवसरमा गोल गरे ।
४ खेलमा दोस्रो जित निकालेको चेल्सी ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेस भने ६ अंकसहित आठौं स्थानमा छ ।