इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी भएका छन् । शनिबार राति भएका खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–१ माथि ४–१को जित निकाल्दा लिभरपुलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै एस्टन भिल्लालाई २–१ले हरायो ।
चेल्सीलाई सहज जित दिलाउने क्रममा क्रिस्टियन पुलिसिचले दुई गोल गरे भने काई हाभर्टज र कर्ट जोउमाले समान १–१ गोल गरे। क्रिस्टल प्यालेसका क्रिस्टियन बेनटेकेले एक गोल फर्काए।
खेलको आठौं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। खेलको १० औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए। एकपछि अर्को गोल गरेको चेल्सीले खेलको ३० औं मिनेटमा तेस्रो गोल गरेको थियो।
कर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाए। खेलको ६३ औं मिनेटमा क्रिस्टियन बेनटेकेले गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–१ गोलको स्थितिमा ल्याए। तर ७८ औं मिनेटमा क्रिस्टियन पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ गोलको जित दिलाए।
यसैगरी शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–१को संघषपूर्ण जित निकालेको छ । घरेलु टिम लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै जित निकालेको हो। लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्सान्डर आर्नोल्डले गोल गरे। यता, एस्टन भिल्लाका आलिई वाट्किन्सले गोल गरे।
खेलको ४३ औं मिनेटमा ओलिई वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई १–० गोलको अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको एस्टनले यही अग्रतालाई दोस्रो हाफमा पनि कायम राख्न सकेन।
खेलको ५७ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाए। खेलको इन्जुरी समयमा एलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २–१ गोलको जित दिलाए।
जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ। ३१ खेलबाट चेल्सीको ५४ अंक छ। पराजित क्रिस्टल प्यालेस भने लिगको १३ औं स्थानमा छ। क्रिस्टल प्यालेसको ३१ खेलबाट ३८ अंक छ। ३१ खेलबाट ५२ अंक बनाएको लिभरपुल लिगको पाँचौ स्थानमा रहँदा पराजित एस्टन भिल्ला भने लिगको १० औं स्थानमा छ। एस्टन भिल्लाको ३० खेलबाट ४४ अंक छ।