फिफा क्लब विश्वकपको इंग्लिस क्लब चेल्सीले जितेको छ । शनिबार राति अबुधाबीस्थित मोहम्मद बिन जायद स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब पाल्मिरेसलाई २-१ले हराउँदै चेल्सीले उपाधि जितेको हो।
चेल्सीले पहिलो पटक क्लब विश्वकप उपाधि जितेको हो । यस्तै, क्लब विश्वकप जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ। यसअघि यो उपाधि म्यान्चेस्टर युनाइटेड र लिभरपुलले जितेका थिए।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले गोल गरे भने पाल्मिरेसका राफेल भेइगाले गोल फर्काए ।
रोमान्चक बनेको खेलको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। उनले रोय हड्सन ओडोइको क्रसमा गोल गरेका थिए।
१० मिनेटपछि नै पाल्मिरेसले बराबरी गोल फर्कायो । ६४औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोलका थिए । थिएगो सिल्भाले डिबक्समा ह्यान्ड गरेपछि पाल्मिरेसले पेनाल्टी पाएको थियो।
निर्धारित समयको खेल १(१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे । उनले ११६ औं मिनेटमा गोल गरेका थिए।
पाल्मिरेसका लुआन गार्सियाले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा हाभर्ट्जले गोल गरेका थिए। तिनै लुआनले इजुरी समयमा रातो कार्ड पाएपछि पाल्मिरेस १० खेलाडीमा समेटिएको थियो।