भुटानी रोनाल्डोले परिचित भुटानी राष्ट्रिय टिमका कप्तान चेन्चो ग्याल्सेनले सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। २६ वर्षीय ग्याल्सेनले डिफेन्डिङ च्याम्पियन मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने छन्।
अहिले नेपालमै रहेका चेन्चोले लिगका मछिन्द्रसँग सम्झौता गरेका छन्। तर, औपचारिक रुपमा मछिन्द्रले ग्याल्सेनलाई सार्वजनिक भने गरिसकेको छैन।
भारतको आई लिग समेत खेलेका चेम्चो सुनिल क्षेत्रीपछि दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा चिनिन्छन्। राउन्डग्लास पञ्जाबलाई च्याम्पियन बनाउने क्रममा चेन्चोले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
जारी लिगमा खराब प्रदर्शन गरिरहेको मछिन्द्रलाई उपाधि रक्षा गर्ने लक्ष्यसहित चेन्चोलाई अनुबन्धन गरेको हो। आफ्ना स्टार खेलाडीहरुले टिम छाडेपछि मछिन्द्र तनावमा छ । उसले लिगका ५ खेलमा १ मात्र जित निकालेको छ।
मछिन्द्र पहिलो रोजाईका खेलाडीहरु विशाल राई, कप्तान सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत खेलाडी लिगकै बीचमा अस्ट्रेलिया प्रस्थान गरेका छन्।