कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपिएल उपाधि

इन्डियन प्रिमियर लिग (आईपिएल) उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। शुक्रबार राति दुबईमा भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो।

यो चेन्नईको चौथो उपाधि हो । र, उ आईपिएलको दोस्रो सफल टिम हो। चेन्नईभन्दा धेरै मुम्बई इन्डियन्सले ५ पटक उपाधि जितेको छ।

पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । उसका लागि बैंकगटेस ऐर र शुभमन गिलले अर्धशतक बनाएपनि अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा कोलकाता पराजित भयो। ऐयरले ५० र गिलले ५१ रन बनाए ।

कोलकातालाई रोक्ने क्रममा चेन्नईका शार्दुला ठाकुरले ३ तथा जोश हेजलउड र रविन्द्र जडेजाले समान २ विकेट लिए।

यसअघि फाफ डू प्लेसीको ८६ रनको योगदान दिएपछि चेन्नईले ३ विकेट गुमाउँदै १९२ रन बनायो। डु प्लेसिसले ५९ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै, मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन बनाए। कोलकाताका लोकेइ फर्गुसनले २ विकेट लिए।