क्यान सदस्य छुम्बी लामा भन्छन्– खेलाडीलाई कारबाही गर्ने निर्णय उग्रवादी र अपमानजनक छ

अनुशासन पालना नगरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेटरलाई बुधबार कारबाही गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीबाट हटाएको छ भने ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी, कलमसिंह ऐरीलाई सन् २०२२को सेन्ट्रल कन्ट्याक्टमा सुरुआती ६ महिना नराख्ने निर्णय गरेको थियो।

क्यानले यो निर्णय बहुमतका आधारमा गरेको थियो । खेलाडीमाथि कारबाही गर्ने निर्णयको विरोध क्यानका सदस्यले बैठकमै गरेका थिए । क्यान सदस्य छुम्बी लामासहित ६ जनाले यो निर्णयमा नोट अफ डिसेन्ट पनि लेखेका थिए ।

खेलाडीलाई कारबाही गर्ने निर्णय उग्रवादी र अपमानजनक निर्णय भएको बताएका छन् । उलने क्यानले अभिभावकीय भूमिकालाई बेवास्ता गर्दै हदैसम्मको अपरिपक्वता देखाएको पनि बताए ।

‘राष्ट्रिय टिमलाई इमानदारीपूर्वक सेवा गरेका खेलाडीलाई क्यानले राष्ट्रिय टिमको कप्तानबाट अस्वाभाविक रुपमा हटाउनु, कुनै पूर्वसंवाद नगरी पदच्युत गरिनु उग्रवादी र अपमानजनक निर्णय हो,’ लामाले भने, ‘क्यनले आफ्नो अभिभावकीय भूमिका बिर्सियो । क्यानले यो हदसम्मको अपरिपक्वता प्रस्तुत गर्नु जायज होइन ।’

यसैगरी अर्का सदस्य अमितवीर पाण्डेले कारबाही नै समस्याको समाधान नभएको बताए । उनले खेलाडीले आफ्नो असन्तुष्टि राख्दा कारबाही नै अन्तिम विकल्प नभएको बताए । उनी भने, ‘कारबाही समस्याको समाधान होइन र न्यायपूर्ण हुँदैन भनेर हामीले भनेका हौं, कारबाही गर्ने हो भने हाम्रो समर्थन हुन्न भन्दाभन्दै पनि उहाँहरूले बहुमतको आधारमा निर्णय गर्नुभयो।’

क्यानको यो निर्णयको व्यापक विरोध भइरहेको छ भने यसको खेलाडीहरुले पनि विरोध गरेका छन् । खेलाडीहरुले सामाजिक सञ्जानमा ‘आईएम डन टु’ क्यानको निर्णयका विरोध गरेका छन् । यस्तो गर्नेमा करण केसी, कुशल भुर्तेल, विनोद भण्डारीदेखि रोहितकुमार पौडेलसम्म छन्।