रोनाल्डो युभेन्टसमै बसेपनि टिमको आक्रमणको नेतृत्व किएजाले गर्ने

युुरोकप २०२० सकिएसँगै अब नियमित फुटबल सिजनले माहोल तताउन थालेको छ। सिजन सुरु हुन केही समय बाँकी नै भएको अवस्थामा अहिले ट्रान्सफरका हल्लाहरुले सबैको ध्यानाकर्षण गरिरहेका छन्।

सिजनको सुरुमा हुने ‘समर ट्रान्सफर’ खेलाडी किनबेच हुने मुख्य समय हो। युभेन्टसका रोनाल्डोले यो सिजन क्लब छाड्नसक्ने गाइँगुइँ चलेको थियो। त्यसको टुंगो अझै लागि नसकेको भएतापनि उनी युभेन्टसमै रहने सम्भावना भने बढेको छ।

तर, उनी युभेन्टसमै बसेको खण्डमा पनि क्लबको आक्रमणको नेतृत्व भने इटालीलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका फेडेरिको किएजाले गर्नेछन्। किएजाले युरोकपमा गरेको प्रदर्शनका कारण ट्रान्सफर मार्केटमा उनको माग ह्वात्तै बढेको छ। युरोपको जाइन्ट बायर्न म्युनिख उनलाई आबद्ध गर्न सबैभन्दा आतुर छ।

‘मलाई किएजाको बारेमा क्षमताका बारेमा पहिल्यैदेखि थाहा थियो। उनी बल पाएपछि वान भर्सेस वानको अवस्था सिर्जना गर्दै क्विक सट प्रहार गर्न खप्पिस छन्,’ बायर्नका प्रशिक्षक जुलियन नेगल्सम्यानले किएजाको तारिफ गर्दै भनेका थिए।

यसपटकको च्याम्पियन्स लिग विजेता चेल्सीपनि उनलाई आबद्ध गर्न आतुर छ। तर, युभेन्टस उनलाई बेच्ने पक्षमा छैन। १०० मिलियन युरो पाएपनि युभेन्टसले किएजालाई बेच्ने छैन। युभेन्टस र प्रशिक्षक मासिमिलियानो एलेग्रीले आगामी सिजन टिमको आक्रमणमा किएजालाई नेतृत्वदायी भूमिका दिँदैछन्।

क्लब फुटबल हेर्नेका लागि किएजा नयाँ नाम होइनन्। गत सिजन च्याम्पियन्स लिगमा नै उनले आफ्नो क्षमता देखाइसकेका थिए। युरोकपमा इटालीका लागि गरेको प्रदर्शन त्यसको निरन्तरता मात्र थियो। फुटबल इतिहासकै सर्वकालिन महान खेलाडीमध्येका रोनाल्डो र करियरकै उत्कृष्ट फर्ममा रहेका किएजालाई सन्तुलन मिलाएर व्यवस्थापन गर्न एलेग्रिलाई पक्कै चुनौतीपूर्ण हुनेछ।

२०१८ मा रियल मड्रिडबाट युभेन्टस आएका रोनाल्डोले आफ्नो क्षमता अनुरुप गोल गर्दै युभेन्टसको उनलाई आबद्ध गर्ने निर्णय हरेक खेलमा सही साबित गरेका छन्। तर, युभेन्टस भने उनलाई च्याम्पियन्स लिग जित्न सक्ने टिम दिन असमर्थ भएको छ।

किएजाको युभेन्टस आगमन भने रोनाल्डोको भन्दा ठिक उल्टो थियो। गत सिजन फियोरिन्टनाबाट युभेन्टस आउँदा धेरैले अनावश्यक महंगो रकम तिरेको भन्दै आलोचना गरेका थिए। एक सिजनमै उनले आफ्ना आलोचकलाई चुप लगाइदिएका छन्।

सदाबहार फर्ममा रहने रोनाल्डोका साथ किएजाको अचुक आक्रमण थप भएपछि युभेन्टसले आगामी सिजनको च्याम्पियन्स लिगमा बलियो दाबेदारी प्रस्तुत गर्ने निश्चित छ।

Facebook Comments Box