५ खेलको टि–२० सिरिजमा लागतार तेस्रो हारपछि अस्ट्रेलियाले जित निकालेको छ। ढाकामा शनिबार भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले हराएको हो।
जितअघि नै अस्ट्रेलियाले सिरिज भने गुमाइ सकेको छ। सिरिजका यसअघिको तीनमा खेल क्रमशः २३ रन, ५ विकेट र १० रनले जित्दै बंगलादेशले सिरिज जितेको थियो। बंगलादेशले इतिहासमै पहिलो पटक कुनै पनि फर्म्याटमा अस्ट्रेलियाविरुद्धको सिरिज जितेको हो।
पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १०५ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। उसका लागि डान क्रिस्टियनले सर्वाधिक ३९ रन बनाउँदा एस्टन अगरले २७ र मिचेल मार्शले ११ रन बनाए। बंगालादेशका महेदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान २ विकेट लिए।
बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १०४ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक २८ रन बनाए भने मेहदी हसनले २३ रन, अफिफ होसेनले २१ रन तथा शाकिब अल हसनले १५ रन बनाए। अस्ट्रेलियाका मिचेल स्वेपसनले ३ विकेट लिए भने जोश हेजलउड र एन्ड्रयु टाईले समान २ लिए।