पहिलो पटक आहा–रारा पोखरा गोल्डकप खेलिरहेको चर्च बोइज क्लबले कमालको प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई हराएको चर्च बोइजले दोस्रो ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबलाई हरायो।
आइतबार पोखरा रंगशालामा भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ले हराउँदै चर्च बोइज आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। यता, लिग च्याम्पियन पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो पटक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको चर्च बोइजले राष्ट्रिय टिमका स्टार खेलाडीहरु अनुबन्धन गरेको छ । उसले स्ट्राइकर अञ्जन विष्ट, डिफेन्डर अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डर तेज तामाङ र एरिक विष्टलाई अनुबन्धन गरेको छ।
मछिन्द्रविरुद्ध जित दिलाउन आशिष चापागाईं र आशिष चौधरी गोल गरे भने मछिन्द्रका सौरभ सुब्बाले गोल गरे ।
२२औं मिनेटमा आशिष चपागाईंले गोल गर्दै चर्च बोइजलाई अग्रता दिलाए। पहलिो १–०मै सकियो। दोस्रो हाफको पहिलो मिनेटमा आशिष चापागाईंले नै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस्तै, ६५औं मिनेटमा आशिष चौधरीले गोल गरेपछि खेलमा चर्च बोइजले ३–०को अग्रता लियो ।
खेलको ८८ औं मिनेटमा सौरभ सुब्बाले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नुहँदा मछिन्द्र चर्च बोइजसँग पहिलो खेलमै स्तब्ध भयो।
अब चर्च बोइजले फाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबको सामना गर्ने छ। एपिएफ धरान एफसीलाई हराउँदै सेमिफाइनल पुगेको हो।