के बेन्जिमाले विश्वकप फाइनल खेल्छन् ? बुधबार राति मोरक्कोलाई हराउँदै फ्रान्स फाइनल पुगेसँगै यो प्रश्न अहिले अधिकांश फुटबलप्रेमीको मनमा उब्जिएको छ ।
विश्वकपको ठीक अगाडि घाइते भएपछि करिम बेन्जिमाले सबैखेल गुमाए । तर, मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले टिमबाट निकालेनन्।
विश्वकपको समूह चरणका खेल नसकिँदै बेन्जिमा चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किए। डेसच्याम्पले बेन्जिमालाई नबोलाउने बताए।
फ्रान्स फाइनल पुगेपछि पोस्टम्याच कन्फ्रेन्समा डेसच्याम्पलाई पत्रकारले प्रश्न गरे– बेन्जिमाले फाइनल खेल्छन् ?
डेसच्याम्प मौन रहे । र, अर्को प्रश्न गर्न पत्रकारहरुलाई अनुरोध गरे। पहिला बेन्जिमालाई टिममा नबोलाउने बताएका डेसच्याम्प फाइनल अघि किन चुप रहे, के उनले बेन्जिमालाई बोलाउन चाहेका छन् ? यो प्रश्न अझै अनुत्तरित छ।
बेन्जिमा अहिले स्पेनको राजधानी मड्रिडमा छन् । र, भाल्देवेवासमा रियल मड्रिडको टिमसँगै प्रशिक्षण गरिरहेका छन्। रियल मड्रिडले पनि फ्रान्स फाइनल अपुग्दै यदि फ्रान्स फाइनल पुगे उनलाई कतार जान दिने बताइसकेको छ।
डेसच्याम्पले बेन्जिमाको विषयमा कुनै जवाफ नदिनु र रियलले कतार जान अनुमति दिनुले पनि अर्जेन्टिनाविरुद्धको फाइनलमा बेन्जिमा खेल्न सक्ने अनुमान गर्न सकिन्छ ।
यदि बेन्जिमा फाइनल खेले, त्यो फ्रान्सका लागि निकै फाइदाजनक हुनेछ। किनभने यो वर्षको बालोन डे’ओर विजेता ३४ वर्षीय बेन्जिमा अहिले करिअरकै उत्कृष्ट लयमा छन् । त्यसैले उनी फाइनल खेले फ्रान्सको टिमलाई थप बलियो बनाउने छ।