नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरुको सहयोगका लागि आपतकालिन कोष निर्माण गर्ने भएको छ । खेलाडीलाई आउने समस्या र भइपरी आउने घटनामा सहयोग गर्ने उद्देश्य साथ क्यानले आपतकालिन कोष निर्माण गर्ने तयारी गरेको हो ।
राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारी सडक दुर्घटनामा परेर उपचार गराइरहँदा क्यानले अगामी दिनमा आइपर्ने यस्ता बिपत्तीमा खेलाडीहरुलाई सहयोग गर्न कोषाको आवश्यकता महसुस कोष निर्माण तयारी गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । खेलाडीमा आईपर्ने जोखिम व्यवस्थापनका लागि छुट्टै कोष संचालनमा ल्याउन क्यान तयारीमा जुटिसकेको उनले जनाए ।
‘ललित जुन अकल्पनीय दुर्घटनामा परे, यसले हामीलाई सोच्न बाध्य बनाएको छ,’ अध्यक्ष चन्दले भने, ‘योभन्दा पहिले हाम्रा खेलाडीमा यस्तो विपत आएको थिएन । अब यस्ता घटना हुँदा खेलाडीलाई सोही कोषाबाट सहयोग गर्न सकिने छ ।’ ललितको घटनाले आपतकालिन कोष निर्माणलाई मूर्तरुप दिन मद्दत गरेको उनले बताए ।
अध्यक्ष चन्दले खेलाडीको बिमा गर्ने विषयमा पनि क्यानमा छलफल भइरहेको बताए । उनले चाँडै निर्णय हुने पनि बताए । ललित गम्भीर दुर्घटनामा परेपछि खेलाडीको बिमा नगरेको भन्दै क्यानको आलोचना भएको थियो ।
आपतकालि अवस्थामा सहयोग गर्न कोषा नहुँदा विपतका बेला खर्च गर्न निकै कठीन भएको उनले बताए । त्यसैले जतिसक्दो चाँडो आपतलिकाल कोष स्थापनामा लागेको चन्ले बताए । उनले आईसिसीको प्रतिबन्ध फुकुवा भइसकेकाले अब खेलाडीको हितका काममा क्यान जुड्ने बताए ।
चन्दले कोषा नहुँदा ललितलाई सहयोग गर्न क्यानलाई कठीनाई भए पनि उनको उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले ग्रान्डी अस्पतालमा उपचार गराइरहेका ललितको सहयोगका लागि आर्थिक संकलन अभियान चलाउने निर्णय गरेको छ ।