शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लव र एपिएफ क्लवबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो । खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए । नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोट्र्सले जनाएको छ ।
आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्यत नेपालमा भएको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङसहित अन्य पदाधिकारी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।