पछिल्लो समय क्रिस्टियानो रोनाल्डोको ट्रान्सफर को हल्लाले ट्रान्सफर मार्केट निकै तातेको छ। हरेक दिन उनलाई लिएर नयाँ हल्ला आइरहन्छन्। तर, रोनाल्डोले ति सबै समाचारको खण्डन गर्दै त्यस्ता निराधार हल्ला नफिजाउन भनेका छन्।
लियोनल मेसी बार्सिलोना छाडेर पिएसजी गएसँगै रोनाल्डोले पनि युभेन्टस छाड्न सक्ने हल्ला फैलिन थालेका थिए। कहिले पिएसजी जाने त कहिले रियल मड्रिड नै फर्किने भन्दै दैनिक अनेक आँकलन आउने क्रम जारी थियो।
रोनाल्डोले यस्ता मिथ्या समाचारको कडा आलोचना गर्दै आफ्ना बारेमा निराधार हल्ला नफैल्याउन निर्देशन दिएका छन्। रोनाल्डोले सामाजिक सञ्जालमार्फत् ट्रान्सफरका हल्लाहरुको खण्डन गर्दै आफ्नो नाम बेचेर फेक समाचार नलेख्न निर्देशन दिएका हुन्।
‘तपाईंहरु सबैलाई थाहै छ म सधैं आफने काममा फोकस गर्छु। म कुराले हैन कामले आफुलाई प्रमाणित गर्नेमा विश्वास गर्छु। करियरको सुरुवातबाटै मेरो एकमात्र सिद्धान्त यही हो। तर, पछिल्लो समय मेरो बारेमा जेजति समाचार आइरहेका छन् तिनले मलाई खेलाडीका रुपमा मात्र नभएर व्यक्तिका रुपमा पनि प्रभाव पारेको छ। ति निराधार हल्लाहरुले मेरो मात्र होइन मेरो नाम जोडिएका क्लबहरु, क्लबका खेलाडी र स्टाफहरुको पनि अपमान भएको छ। यस्ता फेक समाचारको धन्दा बन्द गर्नुहोस्,’ रोनाल्डोले लेखेका छन्।
सोही पोस्ट मार्फत् उनले रियल मड्रिड फर्किने भन्द आइरहेका हल्लाका बारेमा पनि उनले टिप्पणी गरेका छन्। रियल मड्रिडका फ्यानले आफुलाई माया तथा सम्मान गर्ने र उनीहरु पनि आफुलाई प्रिय लाग्ने बताउँदै आफ्नो प्रिय क्लबसँग जोडेर अनावश्यक हल्ला नफैल्याउन रोनाल्डोले निर्देशन दिएका हुन्।
‘रियल मड्रिडमा मेरो कथा लेखिसकिएको छ। शब्दहरुमा, तथ्यांकहरुमा, रेकर्डहरुमा, ट्रफीहरु र टाइटलहरुमा र हेडलाइनहरुमा। बर्नबेउ स्टेडियममा र रियल मड्रिडका फ्यानहरुको मनमस्तिष्कमा पनि। रियलमा बिताएका ति ९ वर्षमा मैले हासिल गरेको उपलब्धिभन्दा माथि छ मैले त्यहाँ पाएको माया र सम्मान।’
रोनाल्डोले लेखेका छन्, ‘मलाई थाहा छ रियलका फ्यानहरुले मलाई सधैं माया र सम्मान गर्छन् र मलाई पनि उनीहरुको बिछट्टै माया लाग्छ। हामीबीच आपसी प्रेम, सम्मान र सद्भावको सम्बन्ध छ। तर, पछिल्लो समय बारम्बार म स्पेन फर्किने हावा समाचार आइरहेका छन्। यसले हाम्रो सम्बन्धमा नकारात्मक प्रभाव पार्छ। त्यहाँ मात्र होइन हरेक दिन विभिन्न लिगका विभिन्न क्लबसँग मेरो नाम जोडर हल्लाहरु आइरहेका छन्। ति केबल हल्ला हुन्।’
‘मेरो नाम बेचेर हावा समाचार लेख्ने कसैलाइ अधिकार छैन। म मेरो काम र करियरमा समर्पित छु। आगामी चुनौतीको सामना गर्न तयार छु। यस बाहेक मेरो बारेमा जेजति समाचार आउँछन् ति सबै आधारहीन हल्ला मात्र हुन्,’ रोनाल्डोले लेखेका छन्।