रियल मड्रिडका प्रशिक्षक कार्लोस एन्सोलोटीले सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा फर्काउन चाहेका छन्। प्रशिक्षक एन्सोलोटीले सन् २०१८मा रियल छाड्दै इटालियन क्लब युभेन्टस पुगेका ३५ वर्षीय रोनाल्डोलाई पुनः क्लबमा फर्काउन चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
रोनाल्डोका नजिकका साथी इडु अगुएरेले पनि रोनाल्डो रियल फर्किए एन्सोलोटी सबैभन्दा बढी खुशी हुने बताएका छन्। रोनाल्डोलाई रियल फर्काउने विषयमा एन्सोलोटी उनीसँग कुरा गर्न चाहेको अगुएरेले बताए।
सन् २०१३ देखि ०१५सम्म एन्लोटीको प्रशिक्षमा रोनाल्डोले रियलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। रोनाल्डो एन्सोलोलीका प्रिय खेलाडी हुन्। सो अवधिमा रोनाल्डोले १५६ खेलमा १६७ गोल गरेका थिए। यसै सिजन प्रशिक्षकका रुपमा पुनः रियल फर्किएपछि उनले रोनाल्डोलाई क्लबमा ल्याउन चाहेका हुन्।
इटालियन सिरि एको सिजन सुरु हुन एक साता बाँकी छँदा रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चलेको छ। युभेन्टसमा रोनाल्डोको सम्झौता सन् २०२२को जुन सम्म छन्, त्यसैले उ पनि रोनाल्डोलाई अर्का सिजिन फ्रिमा छाड्नु भन्दा अहिले नै बेच्ने योजनामा छ। विभिन्न समाचार एजेन्सीहरुको रिपोर्टअनुसार युभेट्सले रोनाल्डोलाई ३० मिलियन युरोमा बेच्न खोजेको छ।

दुई साताअघि अर्जेन्टिनी स्टार लियोनल मेसीलाई फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको फ्रेन्च क्लब पिएसजीले वर्तमान फुटबलका दुई सर्वोत्कृष्ट खेलाडीलाई सँगै खेलाडी उद्देश्यसहित रोनाल्डोलाई भित्र्याउन चाहेको छ।
यस्तै, रोनाल्डोलाई भित्र्याउन उनकै पूर्वक्लब म्यान्चेस्टर युनाइटेडले पनि चासो देखाएको छ। यता, रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले भने रोनाल्डोदलाई म्यान्चेस्टर सिटी जान सुझाएका छन्।
रियलले रोनाल्डोलाई फर्काउने विषयमा युभेन्टसको अवस्था हेरिरहेको छ । रोनाल्डोका बहिर्गमनसँगै रियलमा स्ट्राइकरको खडेरी परेकाले पनि उसले रोनाल्डोलाई क्लबमा फर्काउन सक्छ।
यता रियलले पिएसजीका स्ट्राइकर किलियन एम्बाप्पेलाई पनि ल्याउने प्रयास गरिरहेको छ। समर ट्रान्फर विन्डो अझै २ साता बाँकी रहेकाले रियल रोनाल्डो या एम्बाप्पे मध्ये एकलाई क्लबमा ल्याउन सक्ने छ। एम्बाप्पे रियल आए, सम्भवतः रोनाल्डो पिएसजी जाने छन्।